Tuesday, November 9, 2010

नेपाली गीत-संगीतमा पोखरा

नेपाली गीत-संगीतको उर्वरभूमिका रूपमा परिचित सुन्दर नगरी पोखरामा थुपै्र संगीतकर्मीको जन्म भैसकेको छ । नेपाली संगीतका सबै विधामा पोखराको नाम अग्रपंक्तिमा आउँछ । प्राकृतिक छटाले भरिपूर्ण पोखराको वर्णन गर्दै थुप्रै गीतकार, साहित्यकारले आफ्नो सिर्जना तयार पारेका कारण पनि पोखराको लोकपि्रयता बढेकोमा दुईमत छैन । लोकगीत तथा दोहोरी गीतको क्षेत्रमा पश्चिमाञ्चल क्षेत्र तथा पोखराको भूमिका महत्त्वपूर्ण रहने गरेको छ । लोकगायिका हरिदेवी कोइराला वि.सं. २०२९ देखि मोफसलमा रहेर सांगीतिक यात्रामा निरन्तर लागिरहेकी तथा चर्चा कमाउन सफल पोखरेली गायिका हुन् । आफ्नो पहिलो एल्बम पाइन खबर बजारमा ल्याइसकेपछि हालसम्म पनि चर्चामा रहन सफल हरिदेवी कोइरालाको पोखरामा सांगीतिक वातावरण बढाउन निकै महत्त्वपूर्ण भूमिका छ । त्यस्तै लोकसम्राट् प्रजापति पराजुली पनि नेपाली गीत -संगीतको क्षेत्रमा पोखरालाई माथि पुर्‍याउन सफल व्यक्ति हुन्, मोफसलमा रहेर निरन्तर अघि बढिरहेका अनि सफल भैरहेका गायक पुरुषोतम न्यौपाने पनि हुन् । पो खराको बाटुलेचौरमा जन्मिएका जनकवि केशरी धर्मराज थापाको नेपाली गीत-संगीतको क्षेत्रलाई उचाइमा पुर्‍याउन समर्पित भए । झलकमान गन्धर्व, सरोजगोपाल बज्राचार्य, बाबा राणा, स्व. सोम बर्जाचार्य, चोलेन्द्र पौडेल ऋषि अधिकारी, पार्वती जीसी, जीवन दाहाल, तारापति सुवेदी, लक्ष्मी सुवेदी, सीता केसी आदिले पोखराबाट नै सांगीतिक यात्रा प्रारम्भ गरी चर्चा कमाएका हुन् ।
नेपाली पप तथा सुगम संगीतको क्षेत्रमा पनि पोखराको उपस्थिति तथा योगदान उल्लेखनीय छ । गायक कर्णदास एक समय नेपाली गीत संगीतको क्षेत्रमा राज गर्न सफल भएका थिए, तर उनी बिदेसिएपछि सबै पोखरेलीको मन खिन्न भएको छ ।
पोखराबाट सांगीतिक यात्रा प्रारम्भ गरी राजधानी रहेर संघर्ष गरिरहेका रामभक्त जोजीजु, पोखरामा नै रहेर निरन्तर अघि बढिरहेका विनोद बानियाँ, पोखराबाट यात्रा सुरु गरी राजधानीमा बसेर आफ्नो लोकपि्रयता बढाइरहेका धर्मेन्द्र सेवाङ, मोफसलमै रहेर अघि बढ्न खोज्ने उज्वल भण्डारी, कामको सिलसिलामा बिदेसिए पनि पोखराको लोकपि्रयता बढाइरहेका कन्दरा समूहका गायक विवेक श्रेष्ठ, निरन्तर सांगीतिक यात्रा अघि बढाइरहेका नेपथ्य समूहका अमृत गुरुङ, भ्यागवोन ब्यान्डबाट यात्रा आरम्भ गरी अहिलेसम्म पनि पोखराको गीत-संगीतको क्षेत्रमा क्रियाशील श्यामसुङ तामाङ, डि-मर्चा व्यान्डका भाष्करध्वज श्रेष्ठ, द एज का जीवन गुरुङ, सुन्दर थापा, सुनील थापा, प्रकाश राना, अमित गुरुङ आदिको जन्म पोखरामै भएको हो ।
लोक कवि अलिमियाँ, साहित्यकार सरुभक्त, स्ांस्कृतिविद् सर्वज्ञमान प्रधानाङ्ग, गीतकार विनोद गौचन, प्रकट पंगेनी शिव तथा नवराज बराल पनि कला र साहित्यको क्षेत्रमा पोखरालाई चिनाउन क्रियाशील छन् । भर्खरै मात्र स्थापित संगीत नाट्य एकेडेमीका सचिव पदमा पोखराका संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, प्राज्ञमा लोकगायिका हरिदेवी कोइराला तथा कवि रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ, यसले पनि नेपाली गीत-संगीतको क्षेत्रमा पोखराको स्थान महत्त्वपूर्ण रहेको प्रस्ट हुन्छ ।
पछिल्लो समयमा गीत-संगीतको क्षेत्रमा प्रवेश गर्न प्रतिभावान् कलाकारलाई सजिलो होस् भनेर विभिन्न मेला तथा महोत्सव एवं कार्यक्रमको आयोजना पनि गरिएको छ, यसले गर्दा प्रतिभावान् कलाकारहरूको उदय भैरहेको छ, तर पनि पहिलेको तुलनामा यस क्षेत्रमा लाग्न चाहनेहरूको संख्या कम हुँदै
गएको छ । गीत-संगीतको क्षेत्रमा लागेर जीवन धान्न गाह्रो हुने भएका कारण यस क्षेत्रमा आउन चाहनेहरूको संख्यामा कमी आएको मान्न सकिन्छ ।
गीत-संगीतको क्षेत्रमा लागेर जीवन धान्न नसकेका कारण थुपै्रले यो क्षेत्र छोडेका छन् भने कैयौं बिदेसिएका छन् । कतिले यही भएर पनि अन्य पेसा रोज्न बाध्य छन् । पोखरामा पहिलो-पहिलो दैनिकजसो एल्बम बजारमा आउँथे, सांगीतिक कार्यक्रम पनि बढी नै हुन्थे, तर अहिले एकदमै कम मात्रामा त्यस्ता कार्यक्रम हुने र कार्यक्रममा दर्शकको सहभागिता पनि कम हुने गरेको पाइन्छ । यसले गर्दा यो क्षेत्रमा लाग्न चाहनेहरूको जोस-जाँगर पनि त्यतिकै हराउने गरेको छ । पहिलेको तुलनामा यो क्षेत्रमा लाग्न सजिलो भएको छ । पहिलो-पहिलो गीत रेर्कड गर्न तथा एल्बम निकाल्न काठमाडंौं जानुपर्ने बाध्यता थियो भने अहिले यही एल्बम निकाल्न सम्भव भैसकेको छ, तर पनि यो क्षेत्रमा खुलेर लाग्नेहरूको संख्यामा कमी आएको छ ।
एक समयमा पोखरामा ब्यान्डको स्थापना पनि धेरै हुने गरेको थियो, तर अहिले संगीतिक क्षेत्रमा सक्रिय ब्यान्डको संख्या पनि एकदमै कम छ । दुःख गरेर एल्बम निकाल्यो, आफ्नो कृति प्रकाशन गर्‍योे बिक्री प्रायः ठप्प नै हुने गरेका कारण चाहेर पनि यस क्षेत्रमा धेरैले निरन्तरता दिन सकिरहेका छैनन् । नेपाली संगीतको क्षेत्रमा पोखराको महत्त्व बढाउन प्रतिभावान कलाकारलाई हौसला, प्रेरणा अनि सपोर्टको खाँचो छ ।

1 comment:

  1. If you're trying hard to lose kilograms then you absolutely need to get on this totally brand new personalized keto plan.

    To create this service, certified nutritionists, personal trainers, and professional cooks have united to produce keto meal plans that are powerful, painless, price-efficient, and satisfying.

    Since their grand opening in 2019, thousands of individuals have already completely transformed their body and health with the benefits a great keto plan can give.

    Speaking of benefits; in this link, you'll discover eight scientifically-proven ones offered by the keto plan.

    ReplyDelete