Friday, July 23, 2010

कलेज रोज्नै गाह्रो

सहरभरि उच्चमाविका रंगीचंगी विज्ञापन छन् । सञ्चारमाध्यममा तिनकै चहलपहल धेरै छ । तर एसएलसी उत्तीर्ण प्रमाणपत्र बोकेर कलेज छान्न कुदेका विद्यार्थी भने कुन कलेज पढ्ने अलमलमा छन् । त्यस्तै, अलमलमा छिन्, निशा चाम्लिङ । जो अरुणिमा उच्च माविबाट ८९ दशमलव ६२ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण हुन् । उनलाई 'भारी छुट'सहित पढाउने आश्वासन दिने कलेज धेरै छन् । दर्जन कलेज चहारेकी उनको मन कुनैमा अडिएको छैन ।

'यो, त्यो गर्दै धेरै कलेज हेर्दै हैरान छु,' बि्रजकोर्स गर्दैदेखि कलेजहरूले निम्तो गरेको सुनाउँदै उनले कान्तिपुरसित भनिन्, 'सबैले रामै्र छ । फीमा छुट दिने भनेका छन् । तर कसले कति दिने भनेरचाहिँ बताएका छैनन् ।' उनको रुचि विज्ञानमा छ ।

निशाजस्ता विशिष्ट श्रेणीप्राप्त अधिकांश विद्यार्थीले यतिखेर यस्तै हैरानी खेपिरहेका छन् । कुन कलेज पढ्ने भन्ने अन्योलमा छन् । कुन कलेजमा कस्तो र कुन विषय पढाइ हुन्छ भन्नेबारे भने विद्यार्थी त्यत्ति चनाखो देखिँदैनन् । साथीहरूले भनेकै भरमा विषय छान्ने गरेका छन्, विद्यार्थी आफैं निर्णय गर्न सकिरहेका छैनन् ।

उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार ठूला-ठूला विज्ञापन गर्न पाइँदैन । विद्यालय सम्बन्धन लिने/दिने क्रममा जेजस्तो सम्झौता र नियम पालना गर्न भनिए पनि सहरका अधिकांश उच्च माविले त्यसको बर्खिलाप गर्ने गरेका छन् ।

'विज्ञापनको जमाना छ, यसो नगरे हामीलाई चिन्दैनन्,' यसै वर्ष स्थापित एक कलेजका सञ्चालन भन्छन्, 'लाखौंको भवन, सुविधासम्पन्न भौतिक संरचनालाई चिनाउनै पनि विज्ञापन गर्नुपरेको छ ।'

गत साता शिक्षाविद् केदारभक्त माथेमाले एक कलेजको विज्ञापनमा आफ्नो तस्बिरसहित सल्लाहकार भनेर छापिएपछि स्पष्टीकरणै दिनुपर्‍यो । 'मेरो तस्बिरसहित सल्लाहकार भनी छापिएको विज्ञापनप्रति मेरो ध्यानाकर्षण भएको छ,' उनले स्पष्टीकरणमा भनेका छन्, 'मैले सल्लाहकार बस्न अनुमति दिएको छैन र म कुनै पनि निजी शैक्षिक संस्थामा त्यसरी बस्न इच्छुक पनि छैन ।' माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत हुन् ।

यतिखेर राजधानीलगायत विभिन्न सहरका हरेक सडक, गल्ली, बाटाघाटा, पर्खालमा निजी उच्च माविहरूले विज्ञापन टाँगेर विरूप बनाएका छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चारमाध्यम शैक्ष्ािक संस्थाको विज्ञापनबाट धानिरहेको अवस्था छ । मानौं, एसएलसीमा सहभागी साढे चार लाख तन्नेरीहरूलाई 'बम्पर उपहार' हो ।

शिक्षाविद् डा.विष्णु कार्कीका अनुसार राज्यसंयन्त्रले नियन्त्रण गर्न नसक्दा युवाहरू अन्योलमा परेका

छन् । 'एसएलसीमा ८०-९० प्रतिशत हासिल विद्यार्थीलाई भर्ना गरेको विज्ञापन गर्नुको कुनै तुक छैन,' उनी भन्छन्, 'जुन किसिमको प्रतिशत आए पनि त्यो विद्यार्थीको वास्तविक मूल्यांकन होइन ।'

सबै संकाय र विषय उत्तिकै महत्त्वपूर्ण हुने बताउँदै कार्कीले भने, 'एसएलसीमा अंक आएकै भरमा अभिभावक र विद्यार्थी विज्ञापनमा दिइएको छुटमा कुद्नु हुँदैन ।' विद्यार्थीका निम्ति महत्त्वपूर्ण खुडकलो कलेज भएको उल्लेख गर्दै उनले भने, 'कुन विषय, कुनचाहिँ कलेजमा

कस्तो पढाइन्छ, बुझेर भर्ना गर्न आवश्यक छ ।'

उच्च माध्यमिक विद्यालय संघ -हिसान) का महासचिव युवराज शर्मा कलेजहरुको यो तडकभडकप्रति त्यति सन्तुष्ट छैनन् । 'यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको छ, यसरी जाँदा हामी सही ठाउँमा पुग्दैनौं,' उनले कान्तिपुरसित भने, 'करोडौंको विज्ञापनको भार विद्यार्थीलाई हो । अब उच्च माविले आफूलाई व्यवस्थित गर्न संयुक्त विज्ञापनको थालनी गरेको छ ।'

No comments:

Post a Comment