Friday, July 23, 2010

सोदोपोखरी, फुङफुङे, तोक्पेगोला महोत्सव

नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा पर्यटन प्रवर्द्धनका लागि जिल्लाको पश्चिमी दुई गाविसमा साँवा र पापुङ गाउँ विकास समितिस्थित पर्यटकीय स्थलको प्रचार-प्रसार तथा पर्यटक प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको छ । महोत्सव एउटै क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू फुङफुङे झरना, सोदो पोखरी र तोक्पेगोलाको प्रचारका लागि साउन २७ देखि २९ गतेसम्म तीन दिन चल्नेछ । तोक्पेगोलावासीहरूको ऐतिहासिक पर्व ठुक्पाछेसिको अवसरमा यो महोत्सवको आयोजना गरिएको हो ।

डण्डु शेर्पाका अनुसार महोत्सवमा छोतोङवो परिक्रमा, तोक्पेगोलाका स्थानीय खेल ताक्सु, हर्तो तथा भलिबल प्रतियोगिता सम्पन्न हुनेछन् भने सांस्कृतिक कायर् क्रमअन्तर्गत तोक्पेगोलाका शेर्पा महिलाहरूको स्याब्रु नाच, धुञ्ज्याङ र अन्य कला प्रदर्शनी गरिनेछ । यसका अतिरिक्त अन्य सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने छ ।

स्थानीय उत्पादनका सामग्री यार्चागुम्बा, उवाको पीठो तथा गलैंचाको प्रदर्शनी एवं बिक्री गरिनेछ । यात्राका क्रममा प्रसिद्ध झरना र विशाल पोखरीको अवलोकन गराइनेछ । सदरमुकामबाट २५ कोसको दूरीमा स्थित तोक्पेगोला पुग्न दुईदेखि तीन दिन लाग्छ । पर्यापर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको यो क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुने अनुमान महोत्सव आयोजकहरूको छ । महोत्सवकै अवसरमा भने ५० हजार पर्यटक भित्र्याउने उद्देश्य छ । जिल्लाको पश्चिमी क्षेत्रमा आयोजना गरिएको यो पहिलो महोत्सव हो ।

No comments:

Post a Comment