एसएलसी परीक्षाको नतिजाको प्रकाशनसँगै विद्यार्थीहरूले आफ्नो उच्चशिक्षाका बारेमा सोच्नुपर्ने समय आएको छ । तिपय विद्यार्थीले नतिजाको प्रकाशनअगावै कुन विषय कहाँ अध्ययन गर्ने भन्ने सामान्य मार्गचित्र बनाइसकेका हुन्छन्, तथापि केही विद्यार्थी एसएलसी परीक्षाको नतिजाको प्रकाशनपछि आफूले प्राप्त गरेको अंकका आधारमा अध्ययन गर्ने विषय तथा कलेज छान्दछन् । नतिजा प्रकाशन भैसकेपछि झट्ट विद्यार्थीहरू कुन विषय पढ्ने भन्ने सन्दर्भमा अन्योलमै रहेको पाइन्छ । आफूले प्राप्त गरेको अंक कुन विषय पढ्नका लागि योग्य हुन्छ अनि कुन विषय पढ्नु उपयुक्त छ भनेर विद्यार्थीहरूले चाँडै निचोड निकाल्न पनि सक्दै नन् । कोही आवश्यक वातावरण बुझेर आफूलाई उपयुक्त हुने विषयको खोजीमा लाग्छन् भने कोहीचाहिँ आफूले पढ्ने विषयको जिम्मा आफ्ना अभिभावक तथा शिक्षकहरूमा सुम्पिएर ढुक्क हुन चाहन्छन् ।
प्लस टु कलेजहरूमा एसएलसी परीक्षाको नतिजा प्रकाशनपछि भर्ना प्रक्रिया सुरु हुने भए पनि ए लेभलमा भने यो कुरा लागू हुँदैन । अन्तर्राष्ट्रिय स्तरको यो विषयका लागि एसएलसी परीक्षाको नतिजा प्रकाशनपूर्व नै 'इन्ट्रान्स' परीक्षा लिएर सो को नतिजा प्रकाशन गरी एसएलसी परीक्षाको नतिजा प्रकाशन हुने समयमा धेरै शिक्षण संस्थामा पढाइ नै सुरु भैसकेको हुन्छ । यो वर्ष पनि ए लेभलको पढाइ सुरु भैसकेको छ । नेपालमा पहिले अलिक कम कलेजमा मात्र यसको अध्यापन भए पनि अहिले थुप्रै कलेजमा यो विषय समाविष्ट छ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले ए लेभल पढ्ने योजनाअनुरूप अध्ययन प्रारम्भ गरिसकेको अवस्थामा एसएलसी परीक्षाको नतिजा प्रकाशनपछि विषय रोजौँला भन्ने विद्यार्थीहरूका लागि पनि अवसर बाँकी नै छ, केही कलेजमा अझै ए लेभलमा भर्ना लिइ ँदैछ । खासमा यो विषय प्लस टु वा सो सरहका अन्य विषयका तुलनामा केही राम्रो र नयाँ छ । यसमा समाविष्ट पाठ्यक्रम तथा परीक्षा लिने व्यवस्था पनि अ रूभन्दा फरक तथा राम्रो छ । यसमा विद्यार्थीमा भएको क्षमताको पूर्ण रूपमा मूल्याङ्कन गरिन्छ । परीक्षामा गरेको प्रस्तुतिको मूल्याङ्कन तथा नतिजा प्रकाशनमा पनि ए लेभल अरुभन्दा अगाडि देखिन्छ ।
ए लेभल केही विद्यार्थीका लागि नयाँ विषय भए पनि प्लस टु सबैले बुझेको कुरा हो । प्लस टु मा फरक-फरक किसिमका संकाय भए पनि विद्यार्थीहरूले कुनै संकायलाई कम महत्त्व दिन्छन् भने कुनैलाई बढी । राम्रो नतिजा प्राप्त गर्ने जोसुकैले पनि अहिले विज्ञान संकाय रोज्न थालेका छन् भने यो 'क्याटगोरी'का कमै मात्र विद्यार्थीले अन्य संकाय रोजेको पाइन्छ । राम्रो अंक आयो भन्दैमा विज्ञान नै पढ्नुपर्छ, अरू विषय पढ्नै हुँदैन भन्ने केही छैन । सबैको एउटै सोचाइ छ, साइन्स पढेपछि त भविष्य त्यसै राम्रो भैहाल्छ, तर वास्तविकता त्यो होइन । अरू संकायका पाठ्यक्रम पढेर पनि आशातीत प्रगति गर्न सकिन्छ भने यो संकायमा आवश्यक मेहनत नगरे सफलता पाउन कठिन हुन्छ । खासमा पहिले पर्याप्त विचार नपुर्याई विज्ञान संकाय नै रोज्ने अनि पछि गएर पछुताउनुभन्दा पहिले नै आफूलाई ठीक हुने संकाय कुन हो राम्रोसँग यकिन गर्नुपर्छ । यो संकायमा भर्ना हुन्छु भनेर हतारमा निर्णय गरी पछि गएर पछुताउनुभन्दा बरु अरू जुनसुकै संकाय किन नहोस्, त्यसमा आफू उत्कृष्ट भएर निस्कन सके त्यही क्षेत्रमा आफ्नो 'भोलि'लाई स्थापित गर्न सकिन्छ, सफल भएको ठहर्नेछ ।
अहिले विद्यार्थीको लहर विज्ञान र व्यवस्थापन संकायमा छ भने अरू संकाय कमजोर विद्यार्थीले मात्र पढ्ने संकाय हो भन्ने मानसिकता विकसित भएको छ । खासमा राम्रोसँग पढे जुनसुकै संकायमा अध्ययन गरे पनि 'करियर' निर्माण गर्न सकिन्छ । विज्ञान संकायमा अध्ययन गरेर मात्र सफलता हात पार्न सकिन्छ भन्ने मानसिकतालाई तोड्नु आवश्यक छ । हाम्रै देशमा पनि थुप्रै व्यक्ति अरू संकायमा अध्ययन गरेर पनि राम्रो छवि बनाउन सफल भएको स्पष्ट छ । उदाहरणका लागि, आफ्नो 'करियर' इन्जिनियरिङमा नदेखेपछि त्यो विषय 'ड्रप' गरी 'फिल्म स्टडिज'मा लागेका अनुप पौडेललाई लिन सकिन्छ । अन्तर्राष्ट्रिय स्तरको 'डेमो क्रेसी भिडियो' प्रतियोगितामा उनले 'डेमोक्रेसी इज ब्ल्याक' नामक सानो फिल्म निर्माण गरेर प्रथम भएको धेरै भएको छैन । उनले अहिले जुन सफलता पाए, इन्जिनियरिङ नै अध्ययन गरिरहेको भए सायद यो स्तरको सफलता पाउने थिएनन् । जुनसकै विषयमा पनि आफू राम्रोसँग लागिपरिन्छ भने त्यसमा सफलता पाइन्छ भन्ने कुरालाई सबैले मनन गर्नुपर्छ ।
अहिले प्लस टु मा विज्ञान र व्यवस्थापन संकायका अतिरिक्त मानविकी, शिक्षाजस्ता संकाय पनि छन्, जुन् उत्तिकै महत्त्वका संकाय हुन् । यी संकायमा पनि राम्रोसंग मेहनत गरियो भने भविष्य निर्माण गर्न सकिन्छ । जस्तो उपलब्धि अनुपले प्राप्त गरे, यी संकायमा अध्ययन गरेर त्यस्ता उपलब्धीहरू अरू पनि प्राप्त गर्न सकिन्छ । खासमा संकायको नामबाटै यो उपयुक्त वा यो अनुपयुक्त भनेर छुट्याउनुभन्दा पनि त्यहाँभित्र लुकेका गहन कुराहरू जुन आफूले ग्रहण गर्न सकिन्छ, त्यसका बारेमा बुझ्नु राम्रो हुन्छ ।
अहिले प्लस टु नपढी अरू 'टेक्निकल' विषय पढ्छु भन्ने इच्छा छ भने त्यसका लागि पनि 'अप्सन'हरू उपलब्ध छन् । छात्रहरूले एसएलसीपछि 'ओभरसियर', ' ल्याब एसिस्टेन्ट', 'ल्याब टेक्नीसियन' तथा छात्राहरूले 'स्टाफ नर्स' जस्ता विषय अध्ययन गर्न सक्छन् । जुनसुकै विषय अध्ययन गरे पनि राम्रोसंग मेहनत गरे सफलता आफ्नै हातमा हुन्छ । त्यसैले यो विषय राम्रो र यो नराम्रो भनेर आवश्यक कुरा नबुझी ठोकुवा गर्नुभन्दा पनि सबै विषयको महत्त्व उत्तिकै भएको कुरा मनन गर्नुपर्छ र अन्तमा उपलब्ध सबै विषयमध्ये आफूलाई उपयुक्त हुने खालको, लक्ष्यअनुरूपको विषय अध्ययन गर्नु राम्रो हुन्छ ।
No comments:
Post a Comment