Thursday, August 26, 2010

आधा घन्टा पानी पर्दा...

ठेगान नभएको झरीको यो मौसममा किनमेलका लागि बजार जाँदा विचार पुर्याउनुस है । आधा घन्टामात्र पानी पर्दा मुख्य चोक र सडक जलमग्न हुन्छ भने बजारहरू हिलाम्य ।
छातामात्र बोकेर हुँदैन । सहज खालको पहिरन र जुत्ता/चप्पल लगाउनुस् नत्र बाटोमा चिप्लिएर लड्नुहोला । पानी परेको मौकामा बुधबार दिउँसो घुम्दा महानगर बेहाल र लथालिंग देखियो । जमलको नाँचघर वरिपरिको क्षेत्रमा पानी भरिएको देखियो । पानीले गर्दा असन-कमलाक्षी क्षेत्रमा हिलो र फोहोरमा सहरवासी हिंडिरहेका थिए ।
'केही क्षण पानी पर्दा यस्तो स्थिति छ, डेढ घन्टासम्म पर्दा त सडकमा घुँडासम्म पानी हुन्छ,' जमल मोडमै रहेको ओसिस कपडा पसलका मुक्त चौलागाईंले कान्तिपुरसँग भने, 'जुत्ता फुकालेर हिंड्नुपर्छ ।' उनका अनुसार केही दिनअघि वषर्ायामले गर्दा कमलाक्षी गल्लीमा ढल फुटेर चोकसम्म पुगेको थियो । स्थानीयले रकम संकलन गरेर यसको निर्माण गरिरहेको उनले जनाए ।
वीर अस्पताल पछाडिको महाबौद्ध र मासँगल्लीमा झरीमा खोलाको झैं दृश्य देखिन्छ । स्थानीय पसलेका अनुसार त्यहाँ त १०/१५ मिनेट मात्रै पानी पर्दा यस्तै खोला बग्छन् । वरिपरिको नाला र ढल थुनिएको देखियो । वषर्ाको पानी गल्ली हुँदै फेरि सडकमै गएको देखियो । 'पैदल यात्रुको ध्यान पसलभन्दा सडकमै हुने गरेकाले व्यवसाय त स्वात्तै घट्न गरेको छ,' भट्टराईले भने ।
सहरवासीको मुख्य आकर्षणको केन्द्र न्यूरोड पनि यो मौसममा बेहाल देखिन्छ । दुई-तीन वर्षदेखि ढल थुनिएकाले प्युखामा बाढी आएझैं हुन्छ भने टेःवहालमा पानी जमेर आवागमन अवरुद्ध हुन्छ । 'एक घन्टा बढी पानी पर्यो भने त बजार शून्य हुन्छ,' न्युरोड गेटमै रहेको जुस भण्डारका सुरेन्द्र जैसवालले भने, 'आवागमन त पूरै प्रभावित हुन्छ ।' उनका अनुसार विश्वको अन्य सहरमा झैं पानी पर्यो भने यहाँ पनि डुंगा चलाउनुपर्ने स्थिति आउँछ ।
यो साताभरि पानी परेका बेला चक्रपथ घुम्दा वषर्ाको पानी जति सडकमै जम्मा भएको देखियो । पानीले जथाभावी बगाएर ल्याएको फोहोरले जताततै दुर्ग्ान्ध फैलिएको देखियो । कहीं पनि सरोकारवाला निकायले काम गरेको देखिएन । खाल्डैखाल्डा भएको पुरानो बसपार्कमा जताततै फोहोर र पानी देखियो । ' के गर्ने सधैैको दुःख हो,' फोहोर र हिलो टेकेर बस चढिरहेका एक यात्रुले भने, 'ज्यान र समान जोगाउन गाह्रो हुन्छ ।'
सामाखुसीदेखि गोंबुको नयाँ बसपार्कसम्म खाल्डैखाल्डाले गर्दा आवागमन असुरक्षित देखिन्छ । यो मौसममा नयाँ सडक बनाउँदा समयमै कालोपत्रे गर्न नसकिंदा आवागमन अवरुद्ध हुने गरेको छ । कोटेश्वर-तीनकुने मार्गमा पिच भइरहेकाले ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।
चालकहरूका अनुसार पानीले सहरै डुब्न बेर लाग्दैन । 'पानी भरिएर नदेखिंदा खाल्डाखुल्डीमा गाडी पर्छ, सन्तुलन बिग्रेर यात्रुको टाउको ठोक्किंदा उल्टै गाली खानुपर्छ,' पुरानो बसपार्कदेखि नयाँ बसपार्कसम्म बस चलाउने सिन्धुपाल्चोकका मनोज सिलवालले भने, 'यतिबेला अधिकांश सडकबाटै हिंड्छन्, हिलो र पानी छ्यापिंदा गाली सुन्नु परिहाल्छ ।'
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी विनोद सिंहले भारतको मुख्य सहरमा झैं यहाँ पानी परेमा उत्पन्न हुने स्थितिको कल्पना गर्न नसकिने बताए । उनका अनुसार सामान्य झरी पर्दासमेत बिग्रेको सडकका खाल्डाखुल्डीमा पानी जमेपछि चालकले त्यसलाई छलाएर लाने गर्दा यतिबेला दुर्घटनाको सम्भावना बढी हुन्छ ।
जथाभावी फालिएको मोबिल र लुबि्रकेन्टहरूले समेत सडकलाई चिल्लो बनाएको देखिन्छ । झरीमा आकाशे पुलमुनि यात्रुले आश्रय लिंदा, फोहोर पानी छिरेर इन्जिन बन्द हुँदा र कम गतिमा सवारी चलाइने हुनाले जाम बढेको थियो । डिआइजी सिंहका अनुसार रातिको बेला पानी पर्दा लाइटको प्रकाशले टाढासम्म देख्न नसक्नु, गाडीमा जोडिएको सस्तो वाइपरले राम्रोसँग नपुछ्दा सिसामा चिल्लो पर्दाथ जम्नु, भिज्ने डरले नरोकी बाटो काट्नु र छातैछाताले अनुहार ढाक्दा एक-अर्कालाई नदेख्दा जाम र दुर्घटना हुन्छ ।

No comments:

Post a Comment